निर्वाचनमा निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले चूनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले बुधबार जनमत पार्टीसंग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।
छलफलका क्रममा जनमतका नेताहरुले आफुहरु निर्वाचनमा जान तयार भएको र सुरक्षा लगाएतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए । छलफलपछि उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चूनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताए ।
उनले सरकारको तर्फबाट चूनावको तयारी अगाडी बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गरे । उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।
दलहरु र सरोकारसंग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।












