अन्तरिम सरकारविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीको कडा चेतावनी, १० दिनभित्र माग पूरा गर्न आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने अल्टिमेटम दिएको छ।
पार्टीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै वर्तमान राजनीतिक व्यवस्थाले जनभावना सम्बोधन गर्न नसकेको आरोप लगाएको हो। ज्ञापनपत्रमा विशेष परिस्थितिमा प्रयोग गरिने ‘आवश्यकताको सिद्धान्त’ अपनाउँदै संविधान संशोधन गर्नुपर्ने मागसमेत समेटिएको छ।
नेकपा माओवादीले जेनजीको असन्तुष्टि, जनआवाज र अग्रगामी राजनीतिक प्रस्तावलाई समयमै सम्बोधन नगरे देशको अवस्था पुनः अस्थिर र विस्फोटक बन्न सक्ने चेतावनी दिएको छ। पार्टीका अनुसार राजनीतिक निकासका लागि वर्तमान अन्तरिम सरकारको सट्टा सबै पक्षको सहभागितामा सर्वपक्षीय सरकार गठन अपरिहार्य भइसकेको छ।
मागहरू पूरा भएमा मात्र देशलाई शान्ति, स्थिरता र निर्वाचनको दिशातर्फ लैजान सकिने माओवादीको दाबी गरिएको छ ।












