राजनीतिक दलसँगको संवाद सकारात्मक, निष्पक्ष निर्वाचनमा जोड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले राजनीतिक दलहरूसँग संवाद गर्न गठन गरेको वार्ता टोलीले हालसम्मका छलफल सकारात्मक र फलदायी भएको निष्कर्ष निकालेको छ।
वार्ता टोलीका संयोजक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विभिन्न राजनीतिक दलसँग भएको संवादले आगामी निर्वाचनलाई प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुगेको बताएका छन्।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिन्हाले सरकारले राजनीतिक सहमतिको वातावरण निर्माण गर्न सफल भएको बताए। उनका अनुसार दलहरूसँगको छलफलमा प्रतिनिधि सभा निर्वाचनलाई धाँदलीरहित, स्वतन्त्र र सहज रूपमा सम्पन्न गर्ने विषयमा केन्द्रित भएर विचार विमर्श गरिएको छ।
यसअघि मंगलबार वार्ता टोलीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेको थियो। छलफलका क्रममा जेनजी आन्दोलनका समयमा भएको क्षतिको अवलोकनसमेत गरिएको थियो। मन्त्री सिन्हाले राजनीतिक दलहरूलाई निर्वाचन समयमै हुने विषयमा आश्वस्त पारिएको जानकारी दिए।
साथै, चुनावी प्रक्रिया सुधार गर्न दलहरूबाट सुझाव लिइएको र ती सुझावलाई गम्भीरतापूर्वक विचार गरिने उनले बताए। सरकारले गठन गरेको राजनीतिक संवाद समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी रहेका छन्। सरकारका अनुसार आगामी दिनमा अन्य सरोकारवालासँग पनि संवादलाई निरन्तरता दिने बताएका छन् ।













