सरकारी टोलीद्वारा राप्रपाको केन्द्रीय कार्यालय अनुगमन, निर्वाचन तयारीबारे छलफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारी टोलीद्वारा राप्रपाको केन्द्रीय कार्यालय अनुगमन, निर्वाचन तयारीबारे छलफल

काठमाडौ । सरकारले गठन गरेको अनुगमन टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीको अनुगमन गरेको छ।

कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित टोलीले पार्टी कार्यालयको अनुगमनसँगै राप्रपा नेतृत्वसँग भेटवार्ता गर्दै आसन्न निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेको हो। अनुगमन टोलीमा कानुनमन्त्री सिन्हासहित सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

भेटका क्रममा सरकारी टोलीले निर्वाचनको वातावरण बनाउन तथा आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। सरकारी टोलीले निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिरहेको र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा राप्रपा नेतृत्वलाई आश्वस्त पार्ने प्रयास गरेको उनले जानकारी दिए।

भेटवार्तामा राप्रपाले निर्वाचन अगावै मुलुकलाई नवीन समझदारीको फराकिलो मार्गमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो धारणा सरकारसमक्ष पुनः प्रस्तुत गरेको प्रवक्ता श्रेष्ठले बताए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातान्त्रिक दलको हैसियतले पार्टीले निर्वाचन प्रक्रियाको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताए।