रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रिया तीव्र, पुस १२ र १३ मा प्रारम्भिक मतदान
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएको छ। पार्टीले समानुपातिक उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान पुस १२ र १३ गते गर्ने निर्णय गरेको छ भने अन्तिम उम्मेदवार छनोट पुस १४ गते गर्ने कार्यतालिका तय गरेको छ।
पार्टीले ४ पुसमा सार्वजनिक गरेको सूचीअनुसार देशभरबाट ३५३ जनाले समानुपातिक उम्मेदवारका लागि आवेदन दिएका छन्। सहमहामन्त्री विपीकुमार आचार्यका अनुसार प्रारम्भिक चरणको अन्तिम सूची बुधबार साँझ सार्वजनिक गरिनेछ।
उम्मेदवार छनोटका लागि सहमहामन्त्री आचार्यको नेतृत्वमा विशेष विधि तयार गरिएको छ। सो विधिअनुसार आकांक्षी उम्मेदवारहरूले ब्लुप्रिन्ट प्रस्तुत गर्नुपर्नेछ। साथै उनीहरूले ‘आकस्मिक शून्य समय’ शीर्षकमा पनि प्रस्तुति दिनुपर्ने व्यवस्था गरिएको छ।
समानुपातिक उम्मेदवारका लागि आवेदन दिएका सबै आकांक्षी काठमाडौँ आइसकेका छन्। आगामी आइतबार र सोमबार देशभित्र तथा विदेशमा रहेका रास्वपाका सदस्यहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। “संसारभर रहेका रास्वपा सदस्यले समानुपातिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीलाई मोबाइल एपमार्फत मत दिन सक्नेछन्,” सहमहामन्त्री आचार्यले बताएका छन्।
यसअघि पुस ५ गते सातै प्रदेशमा पार्टी नेतृत्व र आकांक्षी उम्मेदवारबीच छलफल गरिएको थियो। साथै, आवेदकहरूले आवेदन दिएको प्रदेशअनुसार विभिन्न जिल्लामा दुई दिनसम्म घरदैलो अभियानसमेत सञ्चालन गरेका थिए। रास्वपाले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिँदै समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।













