कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ।

हिजोदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन आवश्यक रहेको विषयले प्राथमिकता पाएको थियो। बैठकमा सहभागी अधिकांश नेताहरूले हालको कार्यतालिका व्यवहारिक नभएको भन्दै त्यसलाई यथार्थ अनुकूल बनाइनुपर्ने धारणा राखेका थिए।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ प्रस्तुत गरेका थिए। उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन्।

थापाको प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम आज पनि जारी रहनेछ। पार्टीभित्र लामो समयदेखि अल्झिएको क्रियाशील सदस्यता विवाद र महाधिवेशनको तयारीबारे स्पष्ट निष्कर्ष निकाल्न आजको बैठक निर्णायक मानिएको छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्रको संगठनात्मक अन्योल झन् सतहमा आएको देखिन्छ।