मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेटर मिनष थापाको निधन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेटर मिनष थापाको निधन

विराटनगर । मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ। २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटना बिहान करिब पौने १ बजे भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। गम्भीर घाइते भएका थापालाई तत्काल कोसी अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

कोसी प्रदेशबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्दै आएका थापा करिब नौ वर्षदेखि प्रतिस्पर्धात्मक क्रिकेटमा सक्रिय थिए। उनी एक सक्षम ब्याट्सम्यानका रूपमा परिचित थिए र विभिन्न फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेका थिए।

परिवारका अनुसार थापा आमा तनुजा र भाइ प्रदीपसँग विराटनगरमै बस्दै आएका थिए। घटनापछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिँदै आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ।