अमेरिका मध्यस्थतामा रूस–युक्रेन युद्ध अन्त्यको प्रयास तीव्र, २० बुँदे शान्ति योजनामा युक्रेन सहमत

User Image Prime TV News २ हप्ता अगाडि
Image of अमेरिका मध्यस्थतामा रूस–युक्रेन युद्ध अन्त्यको प्रयास तीव्र, २० बुँदे शान्ति योजनामा युक्रेन सहमत

काठमाडौ । रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले दुवै देशसँग कूटनीतिक छलफललाई तीव्र बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत मस्को र किभसँग शान्ति सम्झौताबारे व्यापक संवाद गरिरहेका छन्।

ट्रम्पले क्रिसमसअगावै शान्ति सम्झौता हुने दाबी गरे पनि जमिनको नियन्त्रणजस्ता संवेदनशील विषयमा सहमति नजुट्दा प्रक्रिया लम्बिएको छ। रूसले पूर्वी दोनेत्स्क क्षेत्रबाट युक्रेनी सेना हट्नुपर्ने अडान राख्दै आएको छ भने युक्रेनले सो क्षेत्र पूर्ण रूपमा रूसको नियन्त्रणमा नरहेको दाबी गर्दै आएको छ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार युक्रेन अमेरिकाले तयार पारेको २० बुँदे नयाँ शान्ति योजनामा सहमत भइसकेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त योजना रूसलाई अध्ययनका लागि पठाइसकेको जानकारी दिएका छन्।

जेलेन्स्कीका अनुसार यो योजना अघिल्लो महिना ट्रम्पले अघि सारेको २८ बुँदे प्रस्तावभन्दा फरक र युक्रेन अनुकूल छ। अघिल्लो प्रस्तावमा रूसलाई फाइदा पुग्ने गरी युक्रेनले कब्जा गुमाउने, सेनाको आकार घटाउने र नेटो सदस्यताको आकांक्षा त्याग्नुपर्ने बुँदा समेटिएका थिए, जसले युरोपेली मुलुकहरूको असन्तुष्टि बढाएको थियो।

परिमार्जित योजनाअनुसार युक्रेनले शान्तिकालमा पनि करिब ८ लाख सैनिकको फौज कायम राख्नेछ। यसको खर्च अमेरिका र युरोपेली साझेदार राष्ट्रहरूले व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, अमेरिका र युरोपसँगको सुरक्षा सम्झौताले युक्रेनलाई बलियो सुरक्षा ग्यारेन्टी प्रदान गर्ने उल्लेख छ।

योजनामा युद्धविरामको निगरानी संयन्त्र, युद्धबन्दी र थुनामा रहेका सर्वसाधारणको रिहाइ, तथा शान्ति सम्झौतापछि यथाशीघ्र निर्वाचन गराउने प्रतिबद्धता पनि समावेश गरिएको छ। युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने विषयलाई समेत योजनामा राखिएको भए पनि त्यसको निश्चित मिति तय हुन सकेको छैन।

युद्धपछिको पुनर्निर्माण र लगानी योजनामा अमेरिकी आर्थिक हितलाई पनि समेटिएको छ। ‘युक्रेन डेभलपमेन्ट फन्ड’ स्थापना गरी प्रविधि, कृत्रिम बुद्धिमत्ता, डाटा सेन्टर, ऊर्जा र खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरिएको छ। पुनर्निर्माणका लागि करिब ८ खर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।

यद्यपि सबैभन्दा संवेदनशील विषय जमिनको नियन्त्रणरेखाबारे अझै सहमति हुन सकेको छैन। अमेरिका यस विषयमा निरस्त्रीकृत क्षेत्र वा स्वतन्त्र आर्थिक क्षेत्र बनाउने विकल्पमा छलफल गरिरहेको बताइएको छ। रूसको नियन्त्रणमा रहेको जापोरिज्जिया आणविक विद्युत केन्द्रको भविष्य पनि अनिर्णीत नै छ।

जेलेन्स्कीले जमिनसम्बन्धी विषय टुंग्याउन राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको बताएका छन्। “भू–भागजस्तो संवेदनशील विषय नेतास्तरमै छलफल गरेर समाधान गर्नुपर्छ,” उनले भनेका छन् ।