बालेनको नेतृत्वमा नयाँ राजनीतिक दल सक्रिय बनाउने तयारी, चर्चित व्यक्तिहरूसँग निरन्तर छलफल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्तिलाई सक्रिय बनाउने तयारी तीव्र पारेका छन्। यही उद्देश्यसहित उनले बुधबार राति अबेरसम्म विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्यक्तिहरूसँग लामो छलफल गरेका छन्।
बुधबार मध्यरातसम्म चलेको छलफलमा विभिन्न राजनीतिक दलका नेता, पूर्व उच्च कर्मचारी, सामाजिक अभियन्ता, कलाकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो। छलफलमा बालेनले निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेको देश विकास पार्टीलाई नै प्रयोग गर्दै चुनाव चिन्ह ‘लौरो’सहित अगाडि बढ्ने योजना सुनाएका थिए।
छलफलमा सहभागीका अनुसार पार्टी निर्माणका लागि आवश्यक व्यक्तित्व, नेतृत्व क्षमता र प्रत्यक्ष निर्वाचन लड्न सक्ने उम्मेदवारको विषयमा गहिरो परामर्श भएको थियो। “पार्टीका लागि कस्ता मान्छे आवश्यक पर्छन् भन्नेबारे विस्तृत छलफल भइरहेको छ,” उनले भने।
उक्त छलफलमा डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसफाइ तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया तथा सञ्चारकर्मी सुरजसिंह ठकुरी सहभागी रहेको बताइन्छ।
बालेनले राजनीतिक सक्रियता अझै बढाउँदै आज पनि विभिन्न व्यक्तिहरूसँग छलफल जारी राखेका छन्। बिहीबार बिहान ११ बजेदेखि ललितपुरमा छलफल सुरु भएको र त्यसमा पनि राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी रहेको जनाइएको छ।
काठमाडौँ महानगरको मेयरका रूपमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका बालेनको यो कदमले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।













