राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौ  । निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार स्वीकृत प्रारम्भिक नामावलीमा कुल २०४३ जना मतदाता समावेश छन्।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। सार्वजनिक नामावलीअनुसार प्रदेश सभा सदस्यतर्फ ५४५ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष गरी १४९८ जना मतदाता रहेका छन्।

आयोगले कानुनी तथा प्रशासनिक कारणले केही पदाधिकारीको नाम मतदाता नामावलीबाट हटाइएको जनाएको छ। प्रदेश सभा सदस्यतर्फ अदालतको आदेशअनुसार पदमुक्त भएका एक जना र निलम्बनमा रहेका चार जना गरी पाँच जना नामावलीमा समावेश छैनन्। यस्तै, स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी आठ जनाको नाम हटाइएको छ।

निर्वाचन प्रक्रियाअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ तोकिएको छ भने गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको छ। मतभारका आधारमा हुने मतदानबाट राष्ट्रिय सभाका रिक्त सदस्य चयन गरिनेछ।

निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावलीमा कुनै त्रुटि वा आपत्ति भए तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी सच्याउन सकिने जनाएको छ।