प्रधानमन्त्री सुशीला कार्कीद्वारा 'क्रिसमस डे' अवसरमा शुभकामना व्यक्त
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै क्रिसमसले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश फैलाउने विश्वास व्यक्त गरेकी छन् । उनले यस पर्वले मानवताका साझा मूल्यहरूलाई थप सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न प्रेरणा दिने उल्लेख गरेकी छन् ।
विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको नेपालमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको प्रधानमन्त्रीको भनाइ छ । यस्ता पर्वहरूले आपसी सम्मान र सामाजिक सद्भावलाई अझ गहिरो बनाउने उनको विश्वास छ ।
क्रिसमस डे को अवसरमा प्रधानमन्त्री कार्कीले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना समेत गरेकी छन् ।













