प्रधानमन्त्री कार्कीले भनिन्: विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने ब्यवस्था परिमार्जन गर्न आवश्यक छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षामा दलीय हस्तक्षेप कम गर्न र विश्वविद्यालयलाई प्राज्ञिक बहसको केन्द्र बनाउने पहल गरिरहेको बताएकी छन् ।
त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, “शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस पहल थालेका छौं। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ। यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ।”
उनले उच्च शिक्षामा लगानी बढाउनुपर्ने, विश्वविद्यालयमा राजनीतिकरणको अन्त्य गर्नुपर्ने र विद्यार्थीलाई गुणस्तरीय र समयानुकूल शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, परीक्षा नतिजा ढिला प्रकाशन भएकोमा विद्यार्थीहरूको असन्तुष्टि सम्बोधन गर्न विश्वविद्यालयले गम्भीरता देखाउनुपर्ने पनि उनले भनिन्।
प्रधानमन्त्री कार्कीले प्रविधिको तीव्र विकास र विश्वव्यापी आप्रवाहको समयमा नेपालको उच्च शिक्षामा सुधार र परिवर्तन आवश्यक रहेको बताइन्।













