कुलमान घिसिङको आह्वानः नयाँ शक्तिहरू एकताबद्ध भएर नेतृत्व परिवर्तन गरौँ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कुलमान घिसिङको आह्वानः नयाँ शक्तिहरू एकताबद्ध भएर नेतृत्व परिवर्तन गरौँ

काठमाडौ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशलाई समृद्धिको दिशामा लैजान वैकल्पिक तथा नयाँ राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। उनले यस्तो अभियानको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्ने स्पष्ट पारेका छन्।

बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले मुलुक परिवर्तनको निर्णायक चरणमा प्रवेश गरिसकेको बताए। उनका अनुसार अबको निर्वाचन केवल सत्ता परिवर्तनको अभ्यास नभई नयाँ नेतृत्व स्थापित गर्ने अवसर हो।

घिसिङले देशमा परिवर्तनको चाहना राख्ने व्यक्ति, समूह र पार्टीहरू एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै भने, “यो देशका लागि केही गरौँ भन्ने सबै नयाँ शक्तिहरू अब एकजुट हुनुपर्छ। जनताको चाहनाअनुसार नेतृत्व परिवर्तन गर्ने समय आएको छ, र त्यसको नेतृत्व उज्यालो नेपालले गर्छ।”

उनले आम नागरिकहरूले पनि नयाँ शक्तिहरूको एकताबद्ध प्रयासको अपेक्षा गरिरहेको बताए। अहिलेको अवस्था निर्वाचनमार्फत राजनीतिक संस्कार परिवर्तन गर्ने उपयुक्त समय भएको भन्दै उनले फागुन २१ गते हुने निर्वाचनले नयाँ राजनीतिक युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे।

उज्यालो नेपाल पार्टीले छोटो समयमै संगठन विस्तार र संरचना निर्माणमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै घिसिङले पार्टी कार्यालय उद्घाटनलाई देशको भविष्य निर्माण गर्ने अभियानको औपचारिक सुरुवातको रूपमा व्याख्या गरे ।