राप्रपाले काठमाडौं–४ बाट उम्मेदवारका लागि चम्पा अधिकारीलाई गर्यो सिफारिस

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राप्रपाले काठमाडौं–४ बाट उम्मेदवारका लागि  चम्पा अधिकारीलाई गर्यो सिफारिस

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट चम्पा अधिकारी (चाहना) लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपाको स्थानीय समितिले अधिकारीलाई प्रत्यक्षतर्फको उम्मेदवार र समानुपातिकतर्फ १ नम्बर सूचीमा राख्न माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी उनले थोरै मतान्तरले मात्र पराजित भएकी थिइन् । हाल राप्रपाको महिला संगठनको केन्द्रीय सचिवको जिम्मेवारीमा रहेकी अधिकारीलाई पार्टीभित्र ‘साझा र गतिशील’ नेतृका रूपमा हेरिएको छ । 

राप्रपाका एक स्थानीय नेताले भने, “उहाँजस्तो ऊर्जाशील र जुझारु युवा नेतृले टिकट पाउँदा निर्वाचन जित्ने सम्भावना निकै बलियो छ । समानुपातिकबाट भए पनि वा प्रत्यक्षबाट भए पनि उहाँजस्ता सक्षम युवाहरूलाई पार्टीले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो जोड हो ।”

काठमाडौँ–४ मा युवा र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अधिकारीको उम्मेदवारीले थप उत्साह थपेको राप्रपा कार्यकर्ताहरूले बताएका छन्। स्थानीय समितिले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेसँगै अब पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले यसबारे अन्तिम निर्णय गर्नेछ ।