कांग्रेस प्रवक्ता महतद्वारा गगन थापालाई जिम्मेवारी याद दिलाउँदै दिए सुझाव
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्री गगन थापालाई आफ्नो जिम्मेवारी पूरा गर्न ध्यान दिन सुझाव दिएका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै डा. महतले महामन्त्री थापाले आफ्नो भूमिका भुलेर अतिरञ्जित प्रस्तुति दिनु उचित नभएको बताएका छन्।
डा. महतले स्पष्ट पारे, “महामन्त्री हुनुहुन्छ भन्ने कारणले उहाँबाट पार्टीका सबै साथीहरूले जिम्मेवारीको अपेक्षा गर्छन्। त्यसैले कुनै विषयलाई अतिरञ्जित रुपमा सार्वजनिक गर्नु हुँदैन। अहिले कसैलाई दोष दिने कुरा छैन।”
यसअघि बुधबार महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइए पनि शक्ति आफैंमा रहेको बताएका थिए।
डा. महतले जवाफ दिंदै भने, सभापतिले कार्यवाहक सभापति र महामन्त्री दुवैलाई जिम्मेवारी दिएका छन्। “महामन्त्रीलाई त क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी दिनुभएको छ। त्यसैले एक अर्कालाई दोषारोपण गर्नुभन्दा आफ्नो जिम्मेवारीको काम कति गर्न सक्यौं, त्यसमा ध्यान दिनुपर्छ।”
डा. महतले महाधिवेशनको तयारीमा क्रियाशील सदस्यताको काम टुङ्गो नभएकाले कार्यतालिका प्रभावित भएको पनि बताएका छन्। मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले पुस २६–२८ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि सदस्यता सम्बन्धी काम पूरा नहुँदा योजना प्रभावित भएको हो।
उनले थपे, “क्रियाशील सदस्यता टुङ्ग्याउनु सबैभन्दा ठूलो चुनौती हो। वडादेखि सुरु हुने कार्यतालिका यही कारण प्रभावित भएको छ।”












