कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौ । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बुधबारदेखि जारी बैठकमा पार्टी नेतृत्वबीच संगठन सुदृढीकरण, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको कार्यतालिकालाई लिएर गम्भीर छलफल भइरहेको छ। 

महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा बोल्दै अब १६ दिनभित्र क्रियाशील सदस्यताको काम नसकिए पार्टीको संगठनात्मक प्रक्रिया नै अवरुद्ध हुने चेतावनी दिएका छन्।

उनले वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव राख्दै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका थिए।

उनले पार्टीका सबै तहले संस्थागत निर्णय मान्नुपर्नेमा जोड दिँदै आवश्यक परे महाधिवेशनको मिति केही दिन परिमार्जन हुन सक्ने संकेतसमेत गरेका छन्।

पार्टीभित्र नेतृत्वको भूमिकाबारे प्रश्न उठिरहेका बेला जारी बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक चरणका रूपमा हेरिएको छ।