थापा र शर्माको अस्वीकारपछि कांग्रेस संकटतर्फ, नेतृत्वमाथि खुला प्रश्न
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र नेतृत्व संकट गहिरिँदै गएको संकेत देखिएको छ।
महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीको महाधिवेशन नभए आफू उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरेपछि कांग्रेसभित्र तरंग पैदा भएको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार उनले स्पष्ट रूपमा भने, “चुनावअघि नेतृत्व फेरिनुपर्छ। यदि त्यो हुँदैन भने म चुनाव लड्दिनँ। जसलाई मन छ, लड्नुस्।”
थापाको यो अभिव्यक्तिलाई सामान्य असन्तुष्टि नभई नेतृत्वप्रतिको गम्भीर अविश्वासका रूपमा हेरिएको छ। पार्टी लामो समयदेखि महाधिवेशन टार्दै आएको र नेतृत्वले जिम्मेवारीबाट पन्छिँदै गएको आरोप उनीनिकट नेताहरूले लगाउँदै आएका छन्।
यही बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसभित्रको संकट झनै गहिरिएको छ। दुई महामन्त्रीको एकैपटकको अस्वीकारले पार्टी नेतृत्वको वैधता र निर्णय क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
नेतृत्वले समयमै महाधिवेशन र स्पष्ट राजनीतिक दिशा तय नगरे कांग्रेस अझ संकटतर्फ धकेलिने विश्लेषण हुन थालेको छ ।












