नाइजेरियामा अमेरिकी सैन्य कारबाही, ट्रम्पको चेतावनीपछि आइएसआईएस लक्षित हमला
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले उत्तर पश्चिम नाइजेरियामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआईएस) विरुद्ध सैन्य कारबाही गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको यस आक्रमणलाई हालसम्मकै सबैभन्दा कडा कदमका रूपमा हेरिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आक्रमणको जानकारी दिँदै इसाइ समुदायमाथि भइरहेको हिंसाको प्रत्यक्ष जवाफ भएको बताएका छन्। उनले लेखेका छन्, “इसाइहरूको हत्या रोकिएन भने परिणाम भोग्नुपर्छ भनेर मैले चेतावनी दिएको थिएँ। आज त्यो चेतावनी कार्यान्वयन भयो।”
अमेरिकी अफ्रिका कमान्डका अनुसार नाइजेरियाली सरकारको अनुरोधमा नाइजरसँग सीमा जोडिएको सोकोतो राज्यमा आक्रमण गरिएको हो। सो क्षेत्र लामो समयदेखि आतंकवादी गतिविधिको केन्द्र बन्दै आएको बताइन्छ।
ट्रम्पले अमेरिकी सेनाको क्षमताको प्रशंसा गर्दै यस्तो सटीक कारबाही विश्वमा अरू कसैले गर्न नसक्ने दाबी गरेका छन्। उनले कट्टरपन्थी इस्लामिक आतंकवादलाई बढ्न नदिने चेतावनी दिँदै यस्ता गतिविधि जारी रहे थप कारबाही हुने संकेतसमेत दिएका छन्।
सीएनएनका अनुसार यस घटनाबारे थप जानकारी लिन ह्वाइट हाउस र नाइजेरियाली सरकारसँग सम्पर्क भइरहेको छ। यद्यपि नाइजेरियाली पक्षबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।
पछिल्ला महिनाहरूमा ट्रम्प नाइजेरियामा इसाइ समुदायमाथि भइरहेको हिंसालाई लिएर आक्रामक देखिँदै आएका थिए। नोभेम्बरमै उनले रक्षा सचिवलाई सम्भावित सैन्य हस्तक्षेपका लागि तयारी गर्न निर्देशन दिएका थिए।













