सञ्चारमन्त्री खरेलको सक्रिय पहल: प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of सञ्चारमन्त्री खरेलको सक्रिय पहल: प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्दै राजनीतिक समन्वयलाई तीव्रता दिएका छन्। मन्त्री खरेल आज एकै दिन नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रमअनुसार सक्रिय भएका हुन्।

मन्त्री खरेल बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन्। भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

देउवासँगको भेटपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निजी निवास गुण्डु पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निजी निवासमा भेटवार्ता गर्ने मन्त्री खरेलको सचिवालयले जनाएको छ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले राजनीतिक दलहरूसँग समन्वय र संवादलाई प्राथमिकता दिएको जनाइएको छ। यही सन्दर्भमा मन्त्री खरेलको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच सरकारले हालै भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयहरूको अनुगमनसमेत गरेको छ। आन्दोलनबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्दै निर्वाचनको अनुकूल वातावरण तयार पार्ने सरकारको तयारी तीव्र बन्दै गएको देखिन्छ।