माओ जयन्तीमा प्रचण्डको सन्देश: समाजवादी लक्ष्यका लागि क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध भएर समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मार्क्स, लेनिन र माओका विचारसँगै नेपाली क्रान्तिकारी आन्दोलनका अनुभवलाई समेट्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
उनले मतभेद र विभाजनभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपाल निर्माणका लागि सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। समाज परिवर्तनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न वैचारिक स्पष्टता र राजनीतिक एकता अपरिहार्य रहेको उनको भनाइ छ।
प्रचण्डले वर्तमान विश्व व्यवस्था साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण गम्भीर संकटमा परेको उल्लेख गर्दै सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र बनेको र जनताको जीवन झन् कष्टकर बन्दै गएको बताए।
यस्तो परिस्थितिमा अध्यक्ष माओत्सेतुङका विचार, संघर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले स्पष्ट पारे। माओले देखाएको मार्ग इतिहासमा मात्र सीमित नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापनाका लागि व्यवहारिक मार्गदर्शन भएको प्रचण्डको भनाइ छ ।













