तीन दलका शीर्ष नेतासँग मन्त्री खरेलको चुनाव तयारी छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग आगामी निर्वाचनको तयारीबारे छलफल गरेका छन्।
शुक्रबार खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनले तीनै दलले निर्वाचनको मूल मर्ममा सहमति व्यक्त गरेको जानकारी दिएका छन्।
खरेलका अनुसार, देउवाले पार्टीको प्राथमिकता संसद पुनःस्थापना नभई निर्वाचन नै रहेको स्पष्ट पारेका छन् र सुरक्षाको वातावरण सुनिश्चित गरी समयमै चुनाव सम्पन्न गर्न सुझाव दिएका छन्। प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको र फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन्।
ओलीले पनि लोकतान्त्रिक पार्टी भएकाले चुनावबाट भाग्ने कुरा नहुने तर निर्भय मतदान सुनिश्चित गर्ने सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए। मन्त्री खरेलले सरकार निर्दिष्ट मितिमा निष्पक्ष चुनाव सम्पन्न गर्न, सुरक्षा सुनिश्चित गर्न र निर्वाचन तयारी तीव्र बनाउन प्रतिबद्ध रहेको दोहोर्याए।
उनले शीर्ष नेताहरूसँगको भेटले आफूलाई उत्साहित बनाएको र जनता फागुन २१ मा चुनाव हुने कुरामा ढुक्क रहन आग्रह गरेको जानकारी दिए।












