सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्यो

काठमाडौ । सर्वोच्च अदालतले जाँचबुझ आयोगविरुद्ध दायर रिट शुक्रबार खारेज गरेको छ। न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

रिट दर्ता गर्ने विपिन ढकालले आयोगको निष्पक्षता र औचित्यमा प्रश्न उठाउँदै कात्तिक १८ गते सर्वोच्चमा निवेदन दिएका थिए। ढकालले आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई विपक्षी बनाउँदै दायर गरेका थिए।

ढकालको दाबी अनुसार आयोगका सदस्यहरू पूर्वाग्रही छन् र विषयवस्तुमा तटस्थ नभएकाले आयोगको काम निष्पक्ष हुन नसक्ने थियो। रिटमा आयोगमा नियुक्त हुनुअघि र पछि राखिएका धारणा पनि प्रश्नको केन्द्रमा राखिएको थियो।

सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र अन्ततः रिट पूर्ण रूपमा खारेज गरेको छ। सरकारले आयोगको सुरुमा तोकिएको ३ महिनाको अवधि एक महिना थप्दै अब आयोगको म्याद माघ ९ सम्म कायम गरेको छ ।