नयाँ राजनीतिक ध्रुवीकरणको तयारी, रवि–बालेन–कुलमानको संयुक्त पार्टी घोषणा नजिक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एउटै राजनीतिक पार्टी निर्माण गर्ने सहमति बनेको छ। पुराना राजनीतिक दलहरूविरुद्ध वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित भइरहेको छलफल निर्णायक चरणमा पुगेको नेताहरूले बताएका छन्।
छलफलमा सहभागी एक नेताका अनुसार तीन नेताबीचको सहकार्य केवल चुनावी तालमेलमा सीमित नहुने बताए । “यो दीर्घकालीन राजनीतिक यात्राका लागि पार्टी एकीकरण नै हो। आज–भोलिमै औपचारिक निर्णय सार्वजनिक हुन्छ,” ती नेताले बताए।
स्रोतका अनुसार मेयर बालेन शाह र मन्त्री घिसिङबीच हिजो राति अबेरसम्म भएको छलफलमा पार्टी संरचना, कार्यदिशा र भावी रणनीतिमा सहमति जुटेको छ। आज पनि तीन नेताबीच थप संवाद हुने तयारी छ।
छलफलमा कुनै पद बाँडफाँट वा स्वार्थ केन्द्रित समझदारी नभएको दाबी गरिएको छ। “एकताको मूल आधार राजनीतिक सुधार र जनअपेक्षा हो। अब यो प्रक्रिया रोकिने सम्भावना छैन,” स्रोतले भन्यो। एकीकृत पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने र पार्टीको चुनाव चिह्न घण्टी नै रहने सहमति भएको बताइएको छ। घण्टी चिह्नले अघिल्लो निर्वाचनमा जनसमर्थन पाइसकेको हुँदा त्यसमा परिवर्तन नगर्ने निर्णय भएको छ।
यस एकताका पहलकर्ता मानिएका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन बन्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ शक्तिहरू एक हुनुपर्ने बाध्यता रहेको बताए।
उनले संयुक्त पार्टी बनेमा आगामी निर्वाचनपछि बालेन शाह प्रधानमन्त्रीको बलियो दावेदार बन्न सक्ने संकेतसमेत गरे। “देशले अब नयाँ नेतृत्व खोजिरहेको छ,” सिंहको भनाइ छ ।












