सल्यानमा नयाँ नेतृत्वको संकेत, रमेश मल्ल चुनाव लड्ने तयारीमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता रमेश मल्लले सल्यानबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै मल्लले युवापुस्ताको भावना र बदलिँदो राजनीतिक आवश्यकतालाई ध्यानमा राखेर आफू निर्वाचनमा होमिन तयार रहेको बताएका हुन्।
नेकपाले शुक्रबार सल्यान जिल्लाबाट प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश मल्लको नाम उम्मेदवारका रूपमा सिफारिस गरेपछि मल्लको प्रतिक्रिया आएको हो। उनले यो विषय व्यक्तिगत चाहनाभन्दा पनि समयको माग र पार्टीभित्रको साझा बुझाइको परिणाम भएको बताएका छन्।
मल्लले वरिष्ठ नेता प्रकाश ज्वाला र टेकबहादुर बस्नेतलाई मार्गदर्शक र अभिभावकको भूमिकामा रहन आग्रह गरेका छन्। उनीहरूबाट आवश्यक राजनीतिक परामर्श र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
उनले सल्यानका मतदाताहरूलाई सम्बोधन गर्दै आगामी निर्वाचनलाई जिम्मेवारी र अवसरको रूपमा लिएको उल्लेख गरेका छन्। “जनताको विश्वाससहित निर्वाचनको परीक्षामा सहभागी हुन पाउने अपेक्षाले म उत्साहित छु,” मल्लको भनाइ छ।
नेकपाभित्र मल्लको यो घोषणालाई नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्ने प्रयासका रूपमा लिइएको छ।












