परराष्ट्रमन्त्री शर्माद्वारा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने प्रतिबद्धता

User Image Prime TV News २ हप्ता अगाडि
Image of परराष्ट्रमन्त्री शर्माद्वारा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि अझ सकारात्मक बनाउने दिशामा आफूले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जिम्मेवारी देश र जनताको हितमा प्रयोग गर्ने स्पष्ट पारे।

मन्त्री शर्माले आफू व्यक्तिगत चाहनाले नभई मुलुक र मन्त्रालयका लागि आवश्यक ठानेर मन्त्रिपरिषद्मा आएको बताए। “मन्त्रिपरिषद्मा आउँदा मुलुक र मन्त्रालयलाई फाइदा हुन्छ भने रोक्नु हुँदैन भन्ने सोचका साथ आएको हुँ,” उनले भने।

नेपालको पहिचान र छवि विश्वसामु कसरी राम्रो बनाउने भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विदेशस्थित नेपाली दूतावास र राजदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाइने बताए। राजदूतहरूले आ–आफ्ना जिम्मेवारीका देशहरूमा गरेको कामको मूल्याङ्कन गरिने र त्यसैअनुसार कूटनीतिक गतिविधि अघि बढाइने उनको भनाइ थियो।

आगामी निर्वाचनको सन्दर्भमा छिमेकी मुलुकहरूसँग आवश्यक सहकार्य गरिने बताउँदै उनले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक र सन्तुलित ढंगले अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।