नियमित महाधिवेशन अन्योलमा परेपछि कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः उठ्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of नियमित महाधिवेशन अन्योलमा परेपछि कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः उठ्यो

काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको समय र प्रक्रिया स्पष्ट नदेखिएपछि विशेष महाधिवेशनको माग पुनः सशक्त रूपमा उठेको छ। विशेष महाधिवेशन पक्षधर समूहले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउँदै शुक्रबार स्मरण पत्र बुझाएको हो।

नेता देवराज चालिसे नेतृत्वको समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाउँदै नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिए विशेष महाधिवेशन नै उपयुक्त विकल्प हुने उल्लेख गरेको छ। उनीहरूले पार्टी विधानअनुसार नेतृत्व चयन र संगठनात्मक निर्णय ढिलाइ हुनु नहुने धारणा राखेका छन्।

यसअघि विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रूपमा हस्ताक्षर संकलन गरिएको थियो। सो क्रममा २९ असोजमा २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित मागपत्र कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो।

पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न नेतृत्वले स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने पक्षधरहरूको जोड छ। उनीहरूले आन्तरिक लोकतन्त्र मजबुत बनाउन र पार्टीलाई सक्रिय बनाइराख्न विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन्।