कांग्रेस महामन्त्रीद्वयको एउटै स्वरः अब विधानअनुसार विशेष महाधिवेशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले १५ औँ नियमित महाधिवेशन तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसक्ने अवस्था आएमा विधानअनुसार विशेष महाधिवेशन आयोजना गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर समूहले बुझाएको ज्ञापन पत्र ग्रहण गर्ने क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन् । महामन्त्री गगन थापाले पुसभित्र नियमित महाधिवेशन नहुने अवस्था देखिँदै गएको उल्लेख गर्दै त्यसपछि विशेष महाधिवेशन अपरिहार्य हुने बताए।
उनले नियमित महाधिवेशन समयमै सम्पन्न भएको भए विशेष महाधिवेशनको माग राख्ने बहुमत प्रतिनिधिहरूको माग स्वतः सम्बोधन हुने अवस्था रहने स्पष्ट पारे। उनका अनुसार पार्टी विधानले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनलाई अनिवार्य व्यवस्था गरेको छ। विशेष महाधिवेशनको ढाँचा, कार्यविधि र समय निर्धारणबारे केन्द्रीय तहमा छलफल गरेर निष्कर्ष निकालिने उनले जानकारी दिए।
महामन्त्री विश्वप्रकाश शर्माले पनि विधान कार्यान्वयन गर्नु पार्टी नेतृत्वको साझा जिम्मेवारी भएको उल्लेख गरे। महामन्त्री, केन्द्रीय समिति र कार्यवाहक सभापतिले विधानअनुसार अघि बढ्नुपर्ने भन्दै विशेष महाधिवेशनको कार्यतालिका तय गर्न कार्यसम्पादन समितिमा प्रस्ताव राखिने बताए।
पार्टीभित्र महाधिवेशनको विषयमा बढ्दै गएको दबाब र औपचारिक अभिव्यक्तिले नेपाली कांग्रेस विशेष महाधिवेशनतर्फ औपचारिक रूपमा अघि बढ्ने सम्भावना बलियो बन्दै गएको छ ।













