निर्वाचनको अन्योल तोड्न प्रधानमन्त्री कार्की सक्रिय, आज शीर्ष नेताहरूसँग छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनको अन्योल तोड्न प्रधानमन्त्री कार्की सक्रिय, आज शीर्ष नेताहरूसँग छलफल

काठमाडौ । निर्वाचनको मिति नजिकिँदै गर्दा बढ्दो अन्योल चिर्न प्रधानमन्त्री सुशीला कार्की आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफलमा बस्ने भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सुरु भएको संवादको निरन्तरतास्वरूप यो भेटवार्ता हुन लागेको हो। प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग प्रत्यक्ष छलफल गरेर निर्वाचनको वातावरण निर्माण गर्ने प्रयास थालेकी हुन्।

यसअघि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए।

शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीको उपस्थितिमा तीन दलका शीर्ष नेताबीच औपचारिक छलफल तय भएको मन्त्री खरेलले जानकारी दिएका छन्। सरकारका अनुसार यो बैठक निर्वाचनको मिति, सुरक्षा अवस्था र राजनीतिक सहमतिका विषयमा केन्द्रित हुनेछ।

यसअघि मन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न दलका कार्यालयको स्थलगत अनुगमन गरेका थिए। पुस ८ र ९ गते उनीहरूले एमाले, कांग्रेस, नेकपा, रास्वपा, राप्रपा र जनमत पार्टीका कार्यालय पुगेर नेतृत्वसँग संवाद गरेका थिए।

सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहेको भए पनि दलहरूबीच अझै पूर्ण सहमति बन्न सकेको छैन। विशेषगरी नेकपा एमालेले शान्ति–सुरक्षा र निष्पक्ष वातावरणको ग्यारेन्टी नहुँदासम्म चुनाव सम्भव नरहेको अडान लिँदै आएको छ।