‘नयाँ’को नारा बेच्नेहरू भ्रम फैलाइरहेका छन् : एमाले महासचिव पोखरेल

User Image Prime TV News २ हप्ता अगाडि
Image of ‘नयाँ’को नारा बेच्नेहरू भ्रम फैलाइरहेका छन् : एमाले महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुरानोको बहस अर्थहीन भएको टिप्पणी गर्दै एजेन्डा, दृष्टि र गन्तव्य नै निर्णायक हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नीति र सिद्धान्तविहीन समूहलाई ‘नयाँ’को खोल ओढाइ राजनीतिक विकल्प बनाउन खोज्नु भ्रम मात्र भएको स्पष्ट पारेका छन्।

पछिल्लो समय आफूलाई नयाँ शक्ति दाबी गर्ने दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन्द्र शाह, हर्क साम्पाङलगायतबीच गठबन्धनको प्रयास भइरहेका बेला पोखरेलको यो टिप्पणी आएको हो। उनले यस्ता गतिविधिलाई राजनीतिक अपरिपक्वताको संकेतका रूपमा व्याख्या गरेका छन्।

पोखरेलले पार्टी पुरानो हुनु कमजोरी नभई नीति र नेतृत्व समयअनुसार अद्यावधिक हुनु नै मुख्य कुरा भएको बताएका छन्। “नेकपा एमाले नीति र नेतृत्व दुवै हिसाबले निरन्तर परिमार्जन हुँदै आएको पार्टी हो,” उनले लेखेका छन्, “यससँग वर्तमान मात्र होइन, भविष्य नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ।”

उनले ‘नयाँ’ का रूपमा प्रस्तुत गरिएका रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङ सबै राज्यसत्तामा कुनै न कुनै रूपमा परीक्षण भइसकेको दाबी गरेका छन्। ती पात्रहरूलाई नयाँ राजनीतिक विकल्पका रूपमा चित्रण गर्नु जनतालाई भ्रममा पार्ने प्रयास मात्र भएको उनको भनाइ छ।