हेलिकप्टर चढेर भागेको १ सय ९ दिनपछि पहिलोपटक बालुवाटार जादै ओली
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका कारण सत्ता गुमाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटार पुग्दै छन्।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा हुने तीन शीर्ष नेताको छलफलमा सहभागी हुन ओली दिउँसो बालुवाटार जाने तय भएको हो। प्रधानमन्त्री कार्कीले आज नेपाली कांग्रेस, एमाले र नेकपा नेतृत्वबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएकी हुन्।
पछिल्लो समय बढ्दै गएको राजनीतिक तनाव, निर्वाचनको तयारी र स्थायित्वका विषयमा आजको छलफल केन्द्रित हुने बताइएको छ। जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि गत भदौ २४ गते तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत बालुवाटारबाट सुरक्षित रूपमा उद्धार गरेको थियो।
त्यस घटनापछि उनी पहिलोपटक बालुवाटार फर्किन लागेका हुन् । उक्त दिनको घटनाबारे ओलीले पछि प्रतिक्रिया दिँदै “पाँच मिनेट ढिला भएको भए ज्यान जोगिन्थेन” भनेका थिए।
जेनजीको दुईदिने विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओलीले सार्वजनिक कार्यक्रममा हेलिकप्टर चढेर नभागेको दावी गर्ने गरेका छन् ।
राजीनामापछि १० दिनसम्म नेपाली सेनाको संरक्षणमा रहेर मात्रै सार्वजनिक भएका ओली अहिले पनि जेनजीको विद्रोहलाई स्वीकार नगरी अन्तरिम सरकारलाई असंवैधानिक भन्दै आलोचना गरिरहेका छन्।
सेनाको संरक्षणमा १० दिन बिताएपछि उनी असोज २ गते भक्तपुरको गुण्डु पुगेका थिए। त्यसपछि केही समय सार्वजनिक रूपमा नदेखिएका ओली हाल पुनः सक्रिय बनेका छन्।













