एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवार छनोट र कार्यविभाजनमा छलफल हुने संकेत
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले ११औँ महाधिवेशनपछि पहिलोपटक केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकको औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन। तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने सम्भावना प्रबल रहेको छ। निर्वाचन आयोगमा पुस १३ र १४ गतेभित्र सूची बुझाउनुपर्ने समयसीमा रहेकाले बैठक त्यसतर्फ केन्द्रित हुने देखिन्छ।
पार्टी स्रोतका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, कार्यविभाजन तथा संगठनात्मक व्यवस्थापनका विषयमा पनि निर्णय हुनसक्छ। महाधिवेशनपछि नयाँ संरचनाअनुसार पार्टी सञ्चालन कसरी गर्ने भन्नेबारे पनि छलफल हुने तयारी रहेको बताइएको छ।
महाधिवेशनपछि बसेको पहिलो सचिवालय बैठक भएकाले यसलाई एमालेको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ। बैठकका निर्णयले पार्टीको आन्तरिक सन्तुलन र चुनावी रणनीतिमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।













