जेलेन्स्की–ट्रम्प भेटको तयारीबीच किभमा रातभर रुसी हमला, युरोपभर सतर्कता बढ्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरिरहेका बेला रुसले युक्रेनको राजधानी किभमा रातभर तीव्र आक्रमण गरेको छ।
कूटनीतिक संवादको सम्भावना बढिरहेका बेला भएको यो आक्रमणले युद्ध अन्त्यको प्रयासलाई थप जटिल बनाएको छ।शनिबार बिहानै किभमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो।
त्यसपछि सहरका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको र आकाशमा ड्रोन उडिरहेको सीएनएनका संवाददाताले प्रत्यक्ष देखेका छन्। आक्रमणका कारण सहरका धेरै भागमा आगलागी भएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ।
किभका आपत्कालीन सेवाका अनुसार आगो फैलिएपछि एक केयर होमबाट वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको छ। युक्रेनी सञ्चारमाध्यम किभ इन्डिपेन्डेन्टका डेपुटी चिफ एडिटर ओलेक्सी सोरोकिनले रुसी सेनाले क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएका छन्।
आक्रमणपछि क्षेत्रीय सुरक्षा चिन्ता बढ्दै गएपछि पोल्यान्डले आफ्नो हवाई क्षेत्र निगरानीमा राख्दै लडाकु विमान उडाएको छ। सुरक्षाका कारण दुईवटा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
यसैबीच, अमेरिकी अधिकारीहरूले आइतबार हुने जेलेन्स्की–ट्रम्प भेटवार्ता युद्ध अन्त्यतर्फको कूटनीतिक प्रयासमा महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले भने पछिल्लो आक्रमणले शान्ति वार्ताको वातावरण झनै चुनौतीपूर्ण बनाएको टिप्पणी गरिरहेको छ।













