चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप उल्लेखनीय रूपमा बढ्न थालेको छ। अघिल्ला वर्षहरूमा घटस्थापनापछि मात्रै यात्रुहरू घरतर्फ जानेगरेको भएपनि यस वर्ष घटस्थापनाअघि नै यात्राको चाप तीव्र भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्ला तीन दिनमा मात्र करिब चार लाख यात्रु उपत्यका बाहिरिसकेका छन्। यात्रुको चाप बढेसँगै व्यवसायीहरू पनि सेवा प्रवाहका लागि पूर्ण रूपमा तयार रहेको उनले जानकारी दिए।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले देशको वर्तमान आर्थिक अवस्था र यात्रुको अवस्थालाई ध्यानमा राख्दै भाडा नबढाउने निर्णय गरिएको बताए। उनका अनुसार यसपटक अग्रिम टिकट प्रणालीभन्दा बढी प्राथमिकता सवारी साधनको उपलब्धता अनुसार टिकट काट्ने व्यवस्थामा दिइएको छ। यात्रुलाई अनावश्यक झन्झट नहोस् भनेर यस्ता व्यवस्था गरिएको हो।

चाडपर्वका बेला यात्रुहरूको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सरकारले पनि सक्रिय देखिएको छ। यातायात व्यवस्था विभागले सडक अवरोध तत्काल हटाउन मद्दत गर्ने उदेश्यले विभिन्न सडक खण्डमा डोजर र उपकरण तयारी अवस्थामा राख्ने जनाएको छ ।  महानिर्देशक राजीव पोखरेलका अनुसार यात्राका क्रममा भाडादर पारदर्शी बनाउने उद्देश्यले विभिन्न स्थानमा यात्रु सहायता कक्ष र भाडा दरसूची बोर्डहरू राखिने पनि जनाएको छ ।