समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगको निर्देशन, माघ १३–१४ अन्तिम म्याद

User Image Prime TV News २ हप्ता अगाडि
Image of समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगको निर्देशन, माघ १३–१४ अन्तिम म्याद

काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न सबै राजनीतिक दललाई औपचारिक रूपमा निर्देशन दिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार तय गरिएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। सोही कार्यक्रमअनुसार राजनीतिक दलहरूले माघ १३ र १४ गते अपराह्न ४ बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ।

बन्दसूची आयोग परिसरभित्र रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुने दलहरूले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ। त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन नियमावली, २०७४ तथा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा उल्लेखित सबै मापदण्ड पालना गर्नुपर्नेछ।

समयसीमाभित्र बन्दसूची नबुझाएमा त्यस्तो सूची स्वीकार नगरिने आयोगले स्पष्ट पारेको छ। साथै दलहरूले आफ्नो बन्दसूची पेस गरेको वा नगरेको विषय सार्वजनिक रूपमा जानकारी गराउन पनि आयोगले अनुरोध गरेको छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूभित्र उम्मेदवार छनोटको प्रक्रिया तीव्र बन्दै गएको छ भने समानुपातिक सूचीलाई लिएर आन्तरिक छलफलमा केन्द्रीत वनेका छन् ।