प्रधानमन्त्री र शीर्ष नेताबीच वालुवाटारमा छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचन अझै अनिश्चित देखिएको छ। यही अन्योलबीच प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज बालुवाटारमा छलफल भएको छ।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । बैठकमा निर्वाचनको तयारी, सुरक्षा अवस्था र राजनीतिक सहमतिका विषयमा चर्चा भएको बताइएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको बैठकपछि पनि दलहरूबीच ठोस सहमति बन्न सकेको थिएन। आजको छलफललाई त्यसैको निरन्तरताको रुपमा लिइएको छ ।
सरकारले निर्वाचनको मिति तोकिसके पनि प्रमुख दलहरू शान्ति सुरक्षा, राजनीतिक वातावरण र निष्पक्षतामाथि प्रश्न उठाइरहेका छन्। यहि कारण निर्वाचन प्रक्रिया अझै अन्योलमा परेको छ।
यसअघि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए। तर राजनीतिक अविश्वास गहिरिँदै गएको देखिन्छ।













