रास्वपा–बालेन संवाद ठप्प, शक्ति बाँडफाँडमै अड्कियो सहमति

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपा–बालेन संवाद ठप्प, शक्ति बाँडफाँडमै अड्कियो सहमति

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ।

शक्ति बाँडफाँडमा सहमति नजुट्दा दुवै पक्षबीचको संवाद प्रक्रिया रोकिएको हो। शुक्रबार अबेरसम्म चलेको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति टुटेको स्रोतले जनाएको छ।

सभापति रवि लामिछानेलाई नेतृत्व दिने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने विषयमा सामान्य समझदारी बने पनि केन्द्रीय समिति र प्रतिनिधिसभा उम्मेदवार छनोटमा बराबर हिस्सा मागिएपछि वार्ता अड्किएको हो।

‘नेतृत्वको विषयमा कुरा मिल्यो तर संगठन र उम्मेदवारी बाँडफाँडमा सहमति हुन सकेन,’ स्रोतले भन्यो।

शुक्रबारको असफल वार्तापछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर पुनः वार्तामा बस्ने तयारी गरेका थिए। शनिबार बिहान दुवैबीच भेट भए पनि त्यसबाट पनि कुनै ठोस निष्कर्ष निस्किएन।

रास्वपा पक्षले शनिबार कुनै औपचारिक छलफल नभएको जनाएको छ। ‘आज हामी कुनै समूहसँग बसेका छैनौँ। रवि र बालेनबीच पनि छलफलको सम्भावना छैन,’ रास्वपा स्रोतले भन्यो, ‘समानुपातिक बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकाले तत्काल दबाब छैन।’

उता बालेन समूहले भने कुलमान घिसिङको प्रतीक्षामा रहेको र रेशम चौधरी तथा सीके राउतलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेको छ।

मंगलबार रातिदेखि रास्वपाका वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहबाट कुमार बेन र स्वकीय सचिव भूपदेव शाहबीच लगातार छलफल भए पनि सहमतिको आधार बन्न सकेको छैन।