कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने, समयमै अधिवेशन गराउने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पार्टीको नियमित महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने उद्देश्यसहित कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको छ।
पछिल्ला केही दिनदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस विषयमा गम्भीर छलफल गर्दै व्यवहारिक कार्यतालिका बनाउने निष्कर्ष निकालेको हो।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा अधिकांश सदस्यहरूले निर्धारित समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका थिए। समयमै अधिवेशन गर्न नसकिए पार्टीभित्रको अव्यवस्था झनै बढ्ने भन्दै सदस्यहरूले स्पष्ट धारणा राखेका थिए।
बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिकाअनुसार काम अघि बढ्न नसकेकाले त्यसलाई परिमार्जन गर्न लागिएको जानकारी दिए। उनका अनुसार नयाँ कार्यतालिका यस्तो बनाइँदैछ, जसले तोकिएको समयमै नियमित महाधिवेशन सम्पन्न हुने सुनिश्चितता गर्नेछ।
पुस ८ गतेभित्र क्रियाशील सदस्यता टुंगो नलागे अन्य सम्पूर्ण प्रक्रिया प्रभावित हुने भएकाले त्यसलाई ध्यानमा राखेर नयाँ तालिका तयार पारिने उनले बताए।
बैठकमा वडादेखि केन्द्रसम्म नीति र नेतृत्व दुवैमा रूपान्तरण आवश्यक रहेको विषयमा पनि जोड दिइएको थियो। पार्टीभित्र समयमै सुधार नगरे संगठन झन् कमजोर हुने चेतावनी सदस्यहरूले दिएका छन्।













