प्रधानमन्त्री कार्कीले शीर्ष नेतासँग निर्वाचन सफल पार्न आग्रह, सरकार निर्वाचनबाट पछि नहट्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीले शीर्ष नेतासँग निर्वाचन सफल पार्न आग्रह, सरकार निर्वाचनबाट पछि नहट्ने

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन जसरी पनि सम्पन्न गरिने स्पष्ट संकेत दिएकी छन्।

प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको छलफलमा उनले सरकार निर्वाचनबाट पछि नहट्ने सन्देश दिँदै सहयोगको आग्रह गरेकी हुन्।

प्रधानमन्त्री निवासमा भएको बैठकको सुरुवातमै कार्कीले आफ्नो निमन्त्रण स्वीकार गरेर उपस्थित भएकोमा नेताहरूलाई धन्यवाद दिँदै निर्वाचनका लागि सरकारले तीव्र रूपमा तयारी गरिरहेको बताइन्।

राष्ट्रपतिबाट प्राप्त कार्यादेशअनुसार सरकार अघि बढिरहेको भन्दै उनले निर्वाचन रोक्ने वा ढिलाइ गर्ने कुनै बहाना अब स्वीकार्य नहुने संकेत गरिन्।

‘यो घर तपाईँहरूकै हो। म न्याय क्षेत्रबाट आएको व्यक्ति हुँ। राष्ट्रपतिज्यूले दिनुभएको जिम्मेवारीअनुसार चुनाव गराउने तयारीमा सरकार जुटेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक सबै स्रोतसाधन उपलब्ध गराइसकिएको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको दाबी गरिन्। सरकार निर्वाचन सफल पार्न पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले देशको भविष्य र लोकतन्त्रको स्थायित्वका लागि अब कुनै अलमल नगरी निर्वाचनमा सहकार्य गर्न सबै दललाई आग्रह गरिन्। ‘यो कुनै दलको मात्रै विषय होइन, राष्ट्रको भविष्यसँग जोडिएको विषय हो,’ उनले भनिन्।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।