रास्वपा र बालेन बिच औपचारिक रुपमा एकता , ७ बुँदे सहमति (पूर्णपाठ)
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह बिच बिहान ‘बृहत् एकता’मा औपचारिक सहमति भएको छ। दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गर्दै आगामी राजनीतिक यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ।
सहमति पत्रमा सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक मूल्यमा आधारित शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। साथै भ्रष्टाचार, कुशासन र राजनीतिक जडताविरुद्ध युवाले उठाएका आवाजलाई संस्थागत रूपमा अघि बढाइने उल्लेख छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई समेत ऐतिहासिक सन्दर्भका रूपमा समेटिएको छ।
एकतापछि पार्टी संरचनालाई अझ सशक्त र समावेशी बनाइने, योग्य र सक्षम युवा अभियन्ता तथा अनुभवी विज्ञलाई नेतृत्व तहमा ल्याइने सहमतिमा उल्लेख गरिएको छ। रास्वपाको चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत रहेर अन्य परिवर्तनकामी र स्वच्छ छवि भएका राजनीतिक समूह तथा व्यक्तिलाई सहकार्यका लागि आह्वान गर्ने निर्णय पनि भएको छ।
रास्वपा र बालेन समूहबीच एकताका लागि लामो समयदेखि संवाद चलिरहेको थियो। विशेषगरी पछिल्लो एक सातायता निरन्तर भेटघाट, औपचारिक तथा अनौपचारिक छलफलपछि दुवै पक्ष साझा राजनीतिक दृष्टिकोणमा पुगेका हुन्।














