सुन–चाँदीको भाउले तोड्यो नयाँ रेकर्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम आइतबार पनि जारी राखेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भई २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आइतबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
लगातार बढ्दो सुन–चाँदीको मूल्यले बजारमा चासो बढाएको छ भने उपभोक्ता तथा लगानीकर्ताहरू सतर्क देखिएका छन्। अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण भाउ अझै उतार–चढाव हुने व्यवसायीहरूको भनाइ छ।













