पुराना राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकताः महासचिव पोखरेल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउने षड्यन्त्रको दोस्रो चरणको तयारी भइरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत देशलाई युक्रेनजस्तै अस्थिर बनाउने प्रयास भइरहेको आशंका व्यक्त गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सम्झौता भएको दिन बिहान पोखरेलले फेसबुकमा लेख्दै भदौ २३ र २४ गते भएका घटनालाई उक्त षड्यन्त्रको पहिलो चरणका रूपमा व्याख्या गरेका छन्।
उनले ती घटनामा युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको ज्यान गएको टिप्पणी गरेका छन्। पोखरेलका अनुसार भदौ २४ गते ती घटनाको आडमा मुलुकको अस्मिता, सामर्थ्य तथा राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो। उनले यस्ता गतिविधिका योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक हुँदै गएको उल्लेख गरेका छन्।
उनले देशमा नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुँदै गएको सन्दर्भमा संविधान र लोकतन्त्रको रक्षा गर्न पुराना राजनीतिक शक्तिहरूबीच पनि एकताको आवश्यकता रहेको बताएका छन्। महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबै देशभक्त र लोकतन्त्रवादी शक्तिहरू सचेत, एकजुट र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।












