रवि र बालेनको सातबुँदे सहमतिप्रति उज्यालो नेपाल पार्टी असन्तुष्ट

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि र बालेनको सातबुँदे सहमतिप्रति उज्यालो नेपाल पार्टी असन्तुष्ट

काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सातबुँदे सम्झौताले जेनजी आन्दोलनको भावना समग्र रूपमा प्रतिनिधित्व गर्न नसकेको निष्कर्ष निकालेको छ।

रवि लामिछाने र बालेन शाह सातबुँदे सहमतिमा पुग्नुअघि उज्यालो नेपाल पार्टीसँग निरन्तर संवादमा रहेको बताइएको छ। तर शनिबार दिनभर चलेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाबाट आएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो।

केन्द्रीय समितिको उक्त निर्णय सार्वजनिक भएको करिब १२ घण्टामै रवि र बालेनबीच सोही प्रस्तावका आधारमा सातबुँदे सहमति भएको हो। यस घटनाक्रमले जेनजी आन्दोलनसँग जोडिएका राजनीतिक शक्तिहरूबीच मतभेद प्रस्ट भएको देखाएको छ।

सहमति सार्वजनिक भएपछि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्ता प्रक्रियामा संलग्न जितराम लामाले उक्त सम्झौताले जेनजी आन्दोलनको मूल मर्म, भावना र युवाहरूका अपेक्षालाई पर्याप्त रूपमा समेट्न नसकेको बताए। उनका अनुसार आन्दोलनको आत्मालाई केन्द्रमा राखेर अझ व्यापक र समावेशी सहमति आवश्यक छ।