ट्रम्प–जेलेन्स्की भेटको पूर्वसन्ध्यामा रूसद्वारा युक्रेनमाथि व्यापक हमला
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुनुअघि रूसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ।
युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा शनिबार राति सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार रातभर भएको आक्रमणमा करिब ५ सय ड्रोन र ४० वटा मिसाइल प्रयोग गरिएको थियो। आक्रमणका कारण किभका केही भागमा विद्युत आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।
किभ र आसपासका क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ४६ जना घाइते भएका छन्। तापक्रम माइनसमा झरेको समयमा बिजुली आपूर्ति अवरुद्ध हुँदा जनजीवन गम्भीर रूपमा प्रभावित भएको रोयटर्सले उल्लेख गरेको छ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेका अनुसार किभ र आसपासका क्षेत्रमा १० लाखभन्दा बढी घरधुरी विद्युतविहीन भएका छन्। शनिबार दिउँसोसम्म पनि ७ लाख ५० हजार घरमा विद्युत आपूर्ति पुनःस्थापना हुन सकेको छैन। उपप्रधानमन्त्री ओलेक्सीय कुलेबाले किभका ४० प्रतिशतभन्दा बढी आवासीय भवनमा ताप सेवा अवरुद्ध भएको जानकारी दिएका छन्।
यसैबीच मस्कोका मेयर सेर्गेई सोब्यानिनले युक्रेनबाट प्रहार गरिएका आठ वटा ड्रोन रुसी प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। रूसले युक्रेनका ऊर्जा पूर्वाधार, विशेषगरी परमाणु ऊर्जा भण्डारण र आपूर्ति केन्द्रहरूलाई लक्ष्य बनाएको आरोप युक्रेनले लगाएको छ।
यस घटनाक्रमबीच राष्ट्रपति जेलेन्स्की रूस–युक्रेन शान्ति योजनामा निर्णायक छलफलका लागि आइतबार वाशिङ्टन डिसी जाँदै छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत तयार पारेको २० बुँदे शान्ति योजनामा युक्रेनले करिब सहमति जनाएको बताइएको छ ।













