मुलुक अब पूर्ण रूपमा निर्वाचनतर्फ अघि बढिसकेको छः सञ्चारमन्त्री खरेल
Prime TV News २ हप्ता अगाडि 
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन्। आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भइसकेको दाबी गरे।
उनले भने, “हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच सघन वार्ता भएको थियो जसले निर्वाचनमा जाने ठोस सहमति सुनिश्चित गर्यो। आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनमय भएको छ, अब कोही पनि पछि हट्ने अवस्था छैन।”
उनले दलहरूले समानुपातिक बन्द सूची तयार गर्न र गठबन्धन निर्माणमा सक्रिय भएको जानकारी दिएका छन्। १४ फागुनसम्म दलहरूले बन्द सूची बुझाउने तयारीमा रहेको उनले बताए। “ठूला दलहरू चुनावमा होमिइसके, अब कुनै पनि दलले चुनावमा नजाने अवस्था छैन। यो नयाँ दिनको नयाँ सुरुवात हो,” उनले भने।
खरेलले आगामी फागुन २१ पछि नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनतर्फ लैजाने विश्वास व्यक्त गरे। साथै, सञ्चार क्षेत्रको रूपान्तरण अपरिहार्य भएको बताउँदै उनले युट्युब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियालाई देशको नयाँ मूलधारको मिडिया बनाइने बताए ।













