निर्वाचनमा प्रचार प्रसारका लागि सवारी साधनको सीमा तोकियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले प्रचारप्रसारका लागि दुईभन्दा बढी सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय निर्वाचन आयोगले गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार, उम्मेदवारले दुईवटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे सवारीसाधन वा त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा चारवटा घोडा मात्र प्रयोग गर्न पाउनेछन्। विदेशी नम्बर प्लेट भएका सवारीसाधनको प्रयोग गर्न नपाइने भएको छ ।
यो नियम गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, अशक्त वा अपांग व्यक्ति, ज्येष्ठ नागरिक जस्ता मतदाताको लागि अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न पाइने व्यवस्था छ। आचारसंहितामा हेलिकोप्टर सेवा सम्बन्धमा पनि व्यवस्था गरिएको छ। राजनीतिक दलले दुई मुख्य प्रचारक आयोगमा नाम दर्ता गराए मात्र हेलिकोप्टर प्रयोग गर्न सक्नेछन् र खर्च आयोगले तोकेको सीमाभित्र रहनुपर्नेछ।
यदि उम्मेदवारले अनुमति नलिएको सवारीसाधन प्रयोग गरेमा सम्बन्धित ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले त्यसलाई नियन्त्रणमा लिएर जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ।













