जसपा र लोसपा एकीकरणमा सहमति, संयुक्त राजनीतिक यात्रा सुरु
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच औपचारिक रूपमा एकीकरण गर्ने सहमति भएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् । विज्ञप्तिमा संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउने सहमतिका आधारमा एकता भएको उल्लेख छ।
दुवै दलले साझा राजनीतिक उद्देश्य र वैचारिक आधारलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा बसेको दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्था, चुनौती र सम्भावनाको समीक्षा गर्दै एकीकरणको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मुलुकको राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। नेतृत्व तहको यो निर्णयलाई मधेस केन्द्रित राजनीतिमा ठूलो पुनर्संरचनाका रूपमा हेरिएको छ।














