समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन, दलहरू अन्तिम तयारीमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन, दलहरू अन्तिम तयारीमा

काठमाडौ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची पेस गर्ने आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगका अनुसार आजसम्म दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाइसक्नुपर्नेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुस १३ र १४ गते पेस भएका बन्दसूचीमाथि पुस १५ देखि २० गतेसम्म छानबिन गरिने जानकारी दिए। त्यसपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सूची सच्याउने अवसर दिइनेछ। आयोगले माघ ४ गते बन्दसूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ।

समानुपातिक प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी हुन १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत दर्ता गराएका छन्। आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी सहित तीन दलले मात्र बन्दसूची बुझाएका छन्। ती दलहरूले कुल १३४ जनाको नाम बुझाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता भट्टराईले कानुनअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूलाई अभिमुखीकरण गरिएको र सूची पेश गर्दा सोही आधार पालना गर्न आग्रह गरिएको बताए।

यसै बिच दलहरुले समानुपातिक सुची तयारी गर्न आन्तरिक तयारीमा जुटेका छन् । नेपाली कांग्रेस समानुपातिक सूची टुंग्याउन आन्तरिक छलफलमा जुटेको छ। पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरी प्रदेशस्तरीय छलफल गरिरहेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सातै प्रदेशका नेतासँग समन्वय गरेर सूची तयार पारिनेछ। समानुपातिकतर्फ ११० जना सांसद चयन हुने भएकाले यसलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए।

नेकपा एमालेले सोमबार निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने निर्णय गरेको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले जिल्ला र प्रदेशबाट प्राप्त नामहरूलाई अन्तिम रूप दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमाथि बैठकमा छलफल गरिएको थियो।

यस्तै, नेकपाले समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाललाई दिएको छ। पार्टी नेता शक्ति बस्नेतका अनुसार अधिकांश जिल्लाबाट नाम आइसकेको छ र बाँकी प्रक्रिया पूरा गरेर सोमबार नै आयोगमा बुझाइनेछ।