भदौ २३ र २४ को घटनामा पूर्वगृहमन्त्री लेखकले आज आयोगमा बयान दिँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिनका लागि गठित आयोगमा पूर्वगृहमन्त्री रमेश लेखक आज बयान दिन उपस्थित हुने भएका छन्। आयोगले बोलाएअनुसार उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालय पुग्नेछन्।
जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रिया अन्तर्गत आज उनी आयोगसमक्ष उपस्थित भएर घटनासँग सम्बन्धित विवरण र आफ्नो भूमिकाबारे स्पष्ट पार्ने बताइएको छ।
लेखकको सचिवालयका अनुसार आयोगमा बयान दिएपछि उनी दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीमा छन्। पत्रकार सम्मेलनमार्फत उनले आयोगमा दिएको बयान, घटनाको पृष्ठभूमि तथा पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना धारणा सार्वजनिक गर्नेछन्।
भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय राजनीतिमा व्यापक बहस सिर्जना गरेपछि सरकारले छानबिन आयोग गठन गरेको थियो। आयोगले हालसम्म विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग बयान लिइसकेको छ।













