सुदन गुरुङको चेतावनी: कुलमान नसमेटिए आन्दोलनको बाटो रोज्न बाध्य हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुदन गुरुङको चेतावनी: कुलमान नसमेटिए आन्दोलनको बाटो रोज्न बाध्य हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भएको सहमतिप्रति जेनजी आन्दोलन असन्तुष्ट देखिएको छ।

जेनजी प्रतिनिधि सुदन गुरुङले कुलमान घिसिङलाई एकताबाट बाहिर राखिएको भन्दै कडा असन्तोष व्यक्त गरेका छन्। आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको थियो।

तर सुरुमा तीन पक्ष रवि, बालेन र कुलमानबीच एकता प्रयास भइरहे पनि अन्ततः कुलमानलाई समेट्न नसकिएको भन्दै जेनजीले आपत्ति जनाएको हो।

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई अलग राखिनु परिवर्तनको पक्षमा उभिएका जनताका लागि निराशाजनक भएको गुरुङको भनाइ छ। उनले यस्तो अवस्थाले आफूहरूलाई कुनै न कुनै पक्ष रोज्न बाध्य बनाउने चेतावनीसमेत दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले लेखेका छन्, “यो अवसर होइन, गम्भीर समय हो। यस्तो घडीमा सबै प्रमुख शक्तिहरू एकजुट हुनुपर्ने हो। तर कुलमानजस्तो व्यक्तित्वलाई अलग राखिनु दुःखद छ।”

उनले थप उल्लेख गरेका छन्, “अलग राखिएको हो कि अलग हुन खोजिएको हो, त्यो समयले देखाउनेछ। तर आजको दिनले सबैलाई सँगै उभिन आदेश दिएको छ।” गुरुङले अन्तिम समयमा पनि देशलाई विभाजनतर्फ नधकेल्न आग्रह गर्दै जेनजीले सबै गतिविधि नजिकबाट नियालिरहेको भन्दै चेतावनी दिएका छन् ।

यद्यपि, रास्वपा सभापति लामिछाने र मेयर बालेनबीच सहमति भइसके पनि कुलमान घिसिङलाई समेट्ने प्रयास जारी रहेको बताइएको छ ।