रास्वपा, बालेन शाह र कुलमान घिसिङ बीचको वार्ता निष्कर्षविहीन, अझै सहमतिको प्रयास जारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपा, बालेन शाह र कुलमान घिसिङ बीचको वार्ता निष्कर्षविहीन, अझै सहमतिको प्रयास जारी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच मध्यरातसम्म चलेको वार्ता निष्कर्षविहीन भएको छ। पदीय बाँडफाँट र समानुपातिक तर्फको बन्दसूचीलाई लिएर रहेका विवादले वार्ता टुंग्याउन सकेको छैन।

वार्तामा, कुलमान घिसिङले आफ्नो पार्टीको नाम "उज्यालो नेपाल" र चुनाव चिह्न "चिम" राख्नुपर्ने अडान राखेका थिए। यसैगरी, रवि लामिछानेले पार्टी सभापतिमा कार्यकारी अधिकारको आवश्यकता रहेको कुरा व्यक्त गरेका छन्। यद्यपि, दुवै पक्षका प्रतिनिधिहरू आफ्नो अडानबाट पछि नहट्दा सहमति जुटाउन सकिएको छैन।

रास्वपाका एक नेताका अनुसार, "मध्यरातसम्म वार्ता भएको थियो, तर पदीय बाँडफाँटको विषयमा सहमति नमिलेपछि वार्ता निष्कर्षविहीन बन्यो। यद्यपि, अझै पनि सहमतिको प्रयास जारी रहनेछ। आज पनि नयाँ वार्ता राखिने छ।"

कुलमान घिसिङले कार्यकारी सभापति पदमा आफूलाई रहने अडान राखेका छन् भने बालेन शाहसँग भएको सहमतिमा रवि लामिछानेले उक्त पद सम्हाल्ने कुरा तय भएको थियो। यसबाहेक, समानुपातिक तर्फको बन्दसूची तयार पार्नुपर्ने आवश्यकता पनि रहेको छ, जसको कारण अझै सहमतिको प्रयास भइरहेको छ। "आज अपराह्नसम्ममा समानुपातिक तर्फको बन्दसूची तयार गर्ने र त्यसबेला सहमति पुग्ने प्रयास हुनेछ," रास्वपाका नेताले भने।

यसैबीच, तीन प्रमुख नेताबीचको सहमतिको अनिश्चितताले राजनीतिक वर्तामा थप चासोको विषय बनेको छ।